नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षदेखि आफ्नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) पेण्डिङमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनले यातायात क्षेत्रमा विकृति, बिसंगति र समस्या देखिएको बताए ।
‘यातायात क्षेत्रमा केही बिसंगति, विकृति, समस्या र जटिलताहरू छन् । जस्तो कि लाइसेन्सकै कुरा छन् । ६ महिना/८ महिनादेखि लाइसेन्स नपाएका पनि छन्’, उनले भने, ‘अहिलेसम्म मेरै लाइसेन्स आएको छैन, एक वर्ष भइसकेको छ । मन्त्रीज्यूको बनाइदिनुपर्छ कि भन्दै हुनुहुन्थ्यो । अहिले मेरो बनाउनपरेन । जुन दिन मेरो लाइन हो, त्यही दिन लिउँला ।’
Advertisement
मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट चालु आर्थिक वर्षमा भन्दा ५० अर्ब कम हुने भन्दै राष्ट्रिय गौरवको आयोजनामा पनि बजेट घटाउनुपरेको बताए ।
‘भौतिक मन्त्रालयको चालु आर्थिक वर्षमा बजेट १६७ अर्ब रहेको छ, आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले ११३ अर्बको मात्रै सिलिङ दिएको छ । आकाश र पातलको फरक भएको छ । ठूला गौरवका आयोजनामा समेत ५० प्रतिशत बजेट घटाउनुपरेको छ’ उनले भने ।
सरकारको आगामी नीति कार्यक्रम र बजेटमार्फत सार्वजनिक सवारी साधनलाई विद्युतीयतर्फ लैजान प्राथमिकता दिने पनि उनले जानकारी दिए ।
मन्त्री ज्वालाले व्यक्तिगततर्फ विद्युतीय सवारी साधनमा आकर्षण बढे पनि सार्वजनिक यातायाततर्फ मानिसको ध्यान निकै कम पुगेको बताए ।