Saturday, May 9

सरकार गण्डकी विश्वविद्यालय खोल्ने तयारीमा छ ः मन्त्रि थापा

गोरखा । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय खोल्ने तयारी अघि बढाएको कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापाले बताएका छन् ।

गोरखा नगरपालिका २ स्थित महालक्ष्मी माध्यामिक विद्यालयको ६५ औं बार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्रि थापाले त्यसका लागि आवस्यक ऐन निर्माण भइसकेको र सिप सिकाउने खालको विश्वविद्यालय स्थापनाका बारे छलफल भइरहेको जानकारी दिए ।

Advertisement

‘सरकारले गण्डकी यूनिभरसीटीको कन्सेप्ट अघि सारेको छ, त्यसका लागि ऐन बन्यो, अब अवधारणा निर्माणको चरणमा छ’ उनले भने ‘गण्डकीमा भोकेसनल शिक्षालाई जोड दिने खालको विश्वविद्यालय बन्छ ।’

सार्वजानिक शिक्षालाई प्राविधीक र प्रयोगात्मक बनाउनुपर्ने उनको जोड थियो । दिनप्रतिदिन सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको भन्दै तिनै तहका सरकार रणनीतिक रुपमा अघि बढे शिक्षा क्षेत्रमा सुधार हुने उनले विश्वास गरे ।

‘अब सार्वजानिक शिक्षालाई सुधारेर टेक्निकल र प्राक्टिकलमा फोकस हुन जरुरी छ’ मन्त्रि थापाले भने ।

त्यस्तै सरकारले एक पालिका एक कृषि पकेट क्षेत्र कार्यक्रम अघि बढाएको उनको भनाई छ । प्रदेशका हरेक स्थानीय तहलाई बिभिन्न किसिमका कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको उनले बताए ।

‘हामीले गण्डकीका ८५ वटै पालिकालाई फरक फरक किसिमबाट कृषिका लागि पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना अघि बढाएका छौ’ उनले भने ‘पालिकामा पकेट क्षेत्र, निर्वाचन क्षेत्रमा कृषि ब्लकको अवधारणा छ ।’

आर्थिक सम्मृद्धिका लागि कृषितन्त्र नै पहिलो आधार रहेको बताउदै मन्त्रि थापाले कृषिलाई ब्यवसायिकता र प्रविधीसंग जोड्नुपर्ने तर्क गरे । निर्वाहमूखी कृषितन्त्रले जिविका समेत चलाउन गाह्रो रहेकाले अब ब्यवसायिक रुपमा अघि बढ्ने किसानलाई सरकारले सहयोग गर्ने उनले बताए ।

‘कृषि क्षेत्रमा मजबुत नभई हाम्रो अर्थतन्त्र बलियो हुदैन’ मन्त्रि थापाले भने ‘अब आधुनिक र ब्यवसायिक रुपमा अघि बढेर कृषि पेशा अंगलाल्नेलाई सरकाले अनुदान दिन्छ, बजारको ब्यवस्था गर्छ ।’

विपन्न र गरिवका लागि आत्मनिर्भर बनाउने गरी सरकारले योजना अघि सारेको जानकारी उनले दिए । आवस्यकताका आधारमा छुट्याइएको बजेट र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आह्वान गर्दै मन्त्रि थापाले सरकारले सुरु गरेको सुखी नागरिक सम्मृद्ध गण्डकी अभियानले सार्थकता पाउने विश्वास ब्यक्त गरे ।

महालक्ष्मी माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विष्णुबहादुर थापा मगरले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो विद्यालय विक्रमसम्वत २०१२ सालमा स्थापना भएको हो । मन्त्रि थापा सो विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । कार्यक्रमकै अवसरमा विद्यालय ब्यवस्थापनका पूर्वअध्यक्ष, जग्गादाता, चन्दादाता लगायत पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *