Wednesday, July 29

कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै

नेपालअखबार,रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले   वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत निर्मल पोख्रेलका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म र दोस्रो सिफ्ट ११बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।

Advertisement
Advertisement

सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालयभित्र मिलाएको आचार्यले बताए ।

Advertisement

विगतमा सेवाग्राही स्वयमले बिचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र १५ सय रुपैयाँदेखि ५ हजार सम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा समेत जिल्ला प्रशासन कार्यालय भित्रै स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए ।  यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुपर्ने झन्झट समेत कम हुने विश्वास छ ।