
नेपालअखबार, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनु भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपाल कृषिप्रधान देश हो भन्ने गरे पनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद भएको बताउनु भयो । उहाँले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको भन्दै कृषि ऐन बनाउन सके मात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
हाम्रो मूल कृषि ऐन नै रहेनछ, कृषि ऐन नै छैन । भन्न त हामीले कृषिप्रधान देश भन्छौँ तर कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटो भन्दा छिटो बनाउँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौँ । अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्यान सके मात्रै पनि कतिपय कुराहरू स्पष्ट हुन्छन्, उहाँको भनाई थियो ।

