Tuesday, July 28

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालन

नेपालअखबार, तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो ।

Advertisement

यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो । गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा सातवटा बिग्रिएका थिए ।

Advertisement
Advertisement

राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो । उनले भने, “अब नौवटा उपकरणबाट सेवा दिन सकिने भएको छ ।” चारवटा मात्रै उपकरण सञ्चालनमा हुँदा मिर्गौलापीडितलाई समस्या हुँदै आएको थियो । चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने गरेका थिए । एघारवटै उपकरण सञ्चालन भए दैनिक २७ बिरामीले सेवा पाउन सक्छन् । केन्द्रले दैनिक बिहान ७ देखि राति ११ बजेसम्म डायलायसिस सेवा सञ्चालन गर्दैआएको छ ।

Advertisement

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालनमा ल्याइएको बताए । केन्द्रमा हाल डायलायसिस सेवा लिने बिरामीको सङ्ख्या ५० रहेको छ । अझै ३० मिर्गौलापीडित डायलायसिसका लागि पालो पर्खिँदै छन् । उनीहरु मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका छन् ।

उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए । “ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरुले मिर्गौला प्रत्यारोपण गर्नुपर्यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौँ ।”

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिएको छ । युनिटमा हालसम्म दुई सय २८ जनाले डायलायसिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु  उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए।