Sunday, July 19

दोषी ठहरिए माओवादीकै नेता भएपनि कारबाही गर्छु : गृहमन्त्री

नेपालअखबार, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन् । शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए । उनले भने– ‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पति  आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन ।’

Advertisement

उनले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए । श्रेष्ठले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)का नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए । ‘हामीले एक दुईवटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौँ । हामी सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टी माओवादीको कोही पर्ला’ उनले भने, ‘उनीहरु भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला । त्यो छुट दिइने छैन । त्यसरी नयाँ ढंगले काम गर्दैछौँ । सबैको सहयोग चाहिएको छ ।’

Advertisement
Advertisement

उनले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने चेतावनी दिए । उनले भने– ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’
गृहमन्त्री श्रेष्ठले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए ।

Advertisement