Friday, July 17

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

नेपालअखबार, कैलाली। कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन् । कृषिबाटै जनजीविका चलाउँदै आएका उहाँको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ । गाउँको भलमन्सा समेत रहनुभएका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो  गाउँलेको हुन्थ्यो ।

Advertisement

सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुगेका थिए ।  रामकुमार नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ ।

Advertisement
Advertisement

“केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो । यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्,  “अरु काम कस्ता भए त्यो थाहा छैन । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनमा देखाएको सक्रियताले सयौँ किसानलाई राहत भएको छ ।” आउँदो आर्थिक वर्षमा पनि सामुदायिक चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्न उनले आग्रह गरे ।

Advertisement

भलमन्सा तथा कृषक देशराम चौधरीले पनि नगरपालिकाको खुलेरै प्रशंसा गरे  । उनले  चौपाया व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुँदा वर्षौंपछि किसानले पूरा बाली भित्र्याउन पाएको बताए । “सडक आसपासका क्षेत्रमा लगाएको अन्न बाली भित्र्याउने आशा निकै कम हुन्थ्यो । चौपायाले आधाभन्दा बढी बाली नष्ट गरिसकेको हुन्थ्यो”, उनी भन्छन्, “अहिले त्यो भएन । सडक तथा खेतमा देखिने चौपाया देखिन छाडेका छन् । रातदिन खेतमै बस्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ ।”

भजनी नगरपालिका–६ का सुखराम डङ्गौराले चार बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । चौपायाका डरले आधा खेतमा मात्रै गहुँ लगाएका उहाँलाई यतिबेला निकै पछुतो भएको छ । उनले चौपायाको डरले सबै खेतमा खेती गर्न सकेनन् । “हिउँदे खेती चौपायाका डरले लगाउन सकिएन । अहिले चैते धान राम्रो भएको छ । चौपाया व्यवस्थापन हुँदा आनन्द भएको छ”, उनले भने, “चौपाया व्यवस्थापनमा नगरपालिकालाई धन्यवाद दिनै पर्छ । यसभन्दा पहिलेको सरकारले नसकेको काम अहिलेको सरकारले गर्न सक्यो ।” उनले गाउँघरमा सामुदायिक चौपाया देखिन छोडेको बताए ।

यसरी त अहिले चौपायाको जोखिम सबै पालिकामा कम भएको छ । स्थानीय सरकारले व्यवस्थापनमा देखाएको तदारुकताले चौपायाको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् ।

स्थानीयले चौपाया छाडा छोडेका कारण पनि चौपाया देखिन छोडेका हुन । टीकापुर नगरपालिकाका कृषक धनबहादुर मगर तरकारी खेती गर्दै आउनुभएको छ । व्यावसायिक तरकारी खेती गर्दै आएका उहाँलाई केही वर्ष चौपायाले राम्रोसँग  सतायो ।

व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगेका उहाँ अहिले व्यवसाय बढाउने सोचमा पुगेका छन् । “दर्जनौँ चौपाया एउटै हुलमा आउने । जतिबेला आफू छैन त्यहीँ मौका छोपेर आउने चौपायाले दिनसम्म दुःख दियो । यतिसम्म कि खेती गर्न नै छोडौँकी भन्नेमा पुगाएको थियो”, उनले भने, “अहिले आशा जागेको छ । हिउँदे तरकारी राम्रो भयो । अहिले पनि चौपाया देखिएका छैनन् । अब कम हुन्छ भन्ने आशा जागेको छ ।”

जानकी गाउँपालिकाका सुरेन्द्र चौधरी पनि चौपायाको समस्या कम हुँदै गएको जनाउँदै किसानलाई ठूलो राहत भएको बताउछन्। उहाँले खेतमा त्रिपाल हालेर चौपायाको हेरालु राख्नुपर्ने स्थिति यस वर्ष नआएको बताए । “हामीले स्थानीय सरकारसँग अनुदान र अन्य सहयोगभन्दा पनि चौपाया व्यवस्थापनका लागि पटकपटक आग्रह गर्दै आएका थियौँ । त्यो आग्रह अहिले आएर स्थानीय सरकारले सुनेको छ”, उनले भने, “अब त्यो अवस्था आउँदैनभन्नेमा किसान ढुक्क छन् तर स्थानीय सरकारले जुन व्यवस्थापन गरेका चौपायाको निगरानी यसैगरी गर्न सकेपछि किसानलाई राहत यहीँ हुनेछ ।”