Saturday, July 4

कक्षा १० को अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन ।

Advertisement

बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न स्तरीकृत परीक्षा प्रणाली लागू गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

Advertisement
Advertisement

उनले भने ‘स्तरीकृत परीक्षा प्रणालीमा देशभर प्रश्नपत्र एउटै स्तरको हुन्छ र एक पटक सोधिएको प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिँदैन । अर्को सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ ।’

Advertisement

बोर्डले कक्षा ८, १० र १२ मा स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । त्यसका लागि नेपालभरका २५० जना शिक्षकहरुलाई देशभरका प्रश्नपत्रको स्तर एउटै बनाउनको लागि प्रशिक्षण दिइसकेको जनाएको छ । बोर्डका अनुसार कक्षा ८ र १२ मा आगामी वर्ष लागू हुनेछ ।

विद्यार्थीको सिकाइस्तर उकास्नको लागि स्तरीकृत परीक्षा प्रणाली लागु गरिएको अध्यक्ष शर्मा बताउँछन् । उनी भन्छन् ‘पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीको सिकाइ सक्षमता विकास हुने र विभिन्न कक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीले के के सिके भन्ने जान्न यो परीक्षा प्रणालीले सहयोग पुर्‍याउँछ ।’

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले विद्यालय तहको एउटै परीक्षार्थीको उत्तरपुस्तिकालाई फरक फरक परीक्षकले परीक्षण गर्दा अंकमा धेरैले फरक पाइएको भन्दै त्यस्तो अन्तर घटाउन स्तरीकृत परीक्षा प्रणाली उपयुक्त हुने बताए ।

उनी भन्छन्, ‘एउटै उत्तरपुस्तिका परीक्षण गर्दा शिक्षकहरूले दिने अंक २० अङ्कसम्म अन्तर रहेको पाइयो । यो विद्यार्थीको लागि ठूलो अन्याय हो । तर यो प्रणालीले त्यो अन्तर कम गर्छ ।’