गोरखा । परम्परा देखि चली आएको मकै बिहे यस वर्ष पनि धुमधामले गरिएको छ ।
धार्चे गाउँपालिका–४ लाप्राकका स्थानीयले बिहीबार बाजागाजा सहित मकैको बिवाह गरिदिएका हुन् ।
ज्योतिषीले हेराएको साइत अनुसार पुरानो गाउँमा भेला भएका स्थानीयहरुले विधि पूर्वक मैक बिहे गरेका हुन् । लाप्राकको ठुँलो आँगनबाट बेहुला अन्माएर निस्केको जन्तीले बेहुली लिएर गाउँ परिक्रमा गरेको थियो ।
‘यो हाम्रो परम्परा देखिको संस्कार हो । हामी वर्षेनी यसरी नै धुमधामले मकैको विवाह गर्छौं’ स्थानीय माइली गुरुङले भनिन्, ‘मकैको बिहे गरेपछि गाउँमा सबै राम्रो हुन्छ । खेतिपाती फल्छ । रोगकिराले दुःख दिदैन ।’
त्यहाँको मुख्य खाद्यबालीको रुपमा रहेको मकैको बिहे गरिदिएपछि उब्जनी राम्रो हुने, असिना, खडेरी तथा अन्य रोगकिराको प्रकोप नरहने विश्वास छ । हरेक वर्ष माघ १५ गते देखि फागुन १५ गतेसम्म साइत जुराएर मकैको बिवाह गर्ने प्रचलन छ ।

मकै बिवाह लाप्राकको प्रमुख चाड हो । बेहुला र बेहुली पक्षमा विभाजित भएका स्थानीयहरु एक ठाउँमा भेला भएर नाचागान गर्छन ।
हरेक घरबाट लगिएको एक/एक घोगा मकै एकै ठाउँमा जम्मा गरिन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ ।
बिउ मकैलाई त्यसरी चोख्याएपछि कीरा, हिउँ र असिना पानीबाट जोगिने स्थानीयहरु बताउँछन् । साझ घाटु नाँचसँगै यस वर्षको मकै विहे सकिएको छ ।






