Wednesday, July 29

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

नेपालअखबार ,सप्तरी ।  दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ।

Advertisement

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो। देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र एक हजार दुई सय रुपैयाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ।

Advertisement
Advertisement

स्रेस्तेदार कुमार मास्केका अनुसार देवले १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो।

Advertisement

राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए। बालिकाहरू भागी अपहरण मुक्त भएपछि पीडितका आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए। मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो। जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए। झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए। बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए।

सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो। यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए।