Thursday, July 16

रूसमा विद्रोहको नेतृत्व गरेका प्रिगोजिनले बेलारूसमा शरण लिने

नेपालअखबार, एजेन्सि।  रूसमा विद्रोहको नेतृत्व गरेका वागनर समूहका प्रमुख यभगेनी प्रिगोजिनले बेलारूसमा शरण लिने भएका छन्।बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको वार्तापछि प्रिगोजिन बेलारूसमा शरण लिन लागेका हुन्।

Advertisement

शनिबार रूसका दुई सहर आफ्नो नियन्त्रणमा  लिएको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढेको वागनर समूहका प्रमुख प्रिगोजिनसँग बेलारूसका राष्ट्रपति लुकाशेन्कोले वार्ता गरेका थिए।

Advertisement
Advertisement

उनकै अनुरोधमा मस्कोतर्फ अगाडि बढेको वागनर समूह बीचबाटै आधार शिविर फर्किएको थियो। अब लुकाशेन्कोकै मध्यस्ततामा प्रिगोजिन विद्रोह रोकैर बेलारूस शरण लिन तयार रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

Advertisement

न्यूयोर्क टाइम्सका अनुसार प्रिगोजिनलाई सुरक्षित रूपमा बेलारूस जान दिने र विद्रोहमा सहभागी भएका उनका सैनिकहरूलाई पनि कारबाही नगर्ने सहमति भएको छ।

विद्रोहमा सहभागी नभएका सैनिकहरूलाई रसियन सेनामा बस्ने कि नबस्ने भन्ने विकल्प दिइने छ।

क्रेमलिनका प्रवक्ता दिमित्री एस. पेस्कोभले पत्रकारहरूलाई बताएअनुसार प्रिगोजिन अब बेलारूस जानेछन् भने रूसले सशस्त्र विद्रोह गरेको आरोपमा उनीविरूद्ध लगाएको  फौजदारी मुद्दा खारेज गर्नेछ।

प्रिगोजिनसँग २० वर्षेदेखि चिनजानमा रहेका र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका अत्यन्त निकट रहेकाले लुकाशेन्कोले रूसमा गृहयुद्ध चर्किन नदिन मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका हुन्।

प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए। रोस्तोव मस्कोबाट ११०० किमी टाढा छ। वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको थियो। उक्त समूहले रोस्तोवदेखि मस्कोसम्मको आधाभन्दा बढी दूरी पार गरिसकेको थियो।

रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको हो। प्रिगोजिनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका थिए। उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी गरेका थिए।

प्रिगोजिन पुटिन जन्मिएको सहर सेन्ट पिटर्सवर्गका हुन्। चोरी मुद्दामा केही समय जेल बसेका उनी सेन्ट पिटर्सवर्गमा ‘हट डग’ बेच्थे। केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महँगा रेस्टुरेन्ट खोलेका थिए। पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना आपूर्ति गर्न थालेको थियो। यसै कारण प्रिगोजिनलाई पुटिनको सेफ पनि भनिन्थ्यो।

वागनर समूह पहिलो पटक सन् २०१४ मा पहिचान भएको थियो। तर वर्षौंसम्म यो समूह अस्तित्वमा रहेको रूस सरकारले स्वीकार गरेको थिएन। यसले सन् २०२२ मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको हो। यो समूहमा रहेका ८० प्रतिशत सैनिकहरू जेल बसिसकेका व्यक्तिहरू भएको बिबिसीले जनाएको छ।

प्रिगोजिनले पहिल्यैदेखि रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए। शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाए र रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी दिए।

‘जसले हाम्रा केटाहरू र दसौं हजार रूसी सैनिक (युक्रेन युद्धमा) मारे, उनीहरूलाई सजाय दिइनेछ,’ टेलिग्राममा हालिएको अडिओ मेसेजमा भनिएको छ, ‘म यसको प्रतिकार नगर्न चेतावनी दिन चाहन्छु। जसले हामीलाई रोक्न खोज्छ उसलाई हामी खतराको रूपमा लिएर ध्वस्त पार्नेछौं। यो कुनै सैन्य कू होइन। तर यो न्यायको लागि यात्रा हो।’

यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी लिएसँगै टेलिभिजनमार्फत् सम्बोधन समेत गरेका थिए। वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनी उनले दिएका थिए। उनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेको पनि भनेका थिए। त्यस्तै रूसी सेनालाई उक्त समूहविरूद्ध युद्ध सुरू गर्न आवश्यक निर्देशन दिइसकेको उनले बताएका थिए।

तर शनिबार राति नै प्रिगोजिनले आफूहरू पछि हट्ने सहमति गरेका छन्।