Friday, July 31

साहित्यकार बाबा अमेरिका प्रस्थान

नेपालअखबार, पोखरा । कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबा अमेरिका प्रस्थान गरेका छन् ।

Advertisement

बाबा नेपाल अमेरिका मैत्री सम्बन्धको ७६ औं वार्षिकोत्सवको सन्दर्भमा नेपाली अमेरिकी समाजको आयोजनामा अमेरिकास्थित कनेक्टिकटको सुन्दर नगरी ब्रानफोर्डमा हुने नेपाल डे महोत्सवका लागि अमेरिका प्रस्थान गरेका हुन् ।
बाबाको अमेरिका बसाइँ तीन हप्ताको हुने भएको छ ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिका अध्यक्ष रहेका बाबा यस अघि २०१९ मा बेलायतमा सम्पन्न छैठौं अन्तर्राष्ट्रिय सम्मेलनमासमेत सहभागी थिए ।

Advertisement

२०५५ सालमै जापान पुगेर जापानी कृषि प्रविधिको अध्ययन तथा अवलोकन भ्रमण गरेर व्यवहारिक जीवनमा लागू गर्दै अगाडि बढेका बाबाले यस अघि दर्जन बढी युरोप तथा एशिया राष्ट्रको भ्रमण गरिसकेका छन् ।
दर्जनौं सम्मान पुरस्कारबाट विभूषित बाबा सार्क राष्ट्रको इतिहासमै पहिलो पटक गीतका माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै श्रीलंकन एम्बेसीद्वारा पिस पोएट एण्ड लिरिसिष्ट अवार्डबाट सम्मानित हुने पनि पहिलो स्रष्टा हुन् ।
उनलाई नेपाल र श्रीलङ्का बीचको सांगीतिक सम्बन्ध स्थापनामा खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै एम्बेसीद्वारा उक्त सम्मान गरिएको हो ।
स्मरण रहोस्, नेपालका गीतकार बाबा र श्रीलंकाका सुप्रसिद्ध संगीतकार तथा गायक डा प्रवाथ पेरिसको स्वर र संगीतमा नेपाश्रीः आधुनिक गीतिएल्बम प्रकाशित छ ।
नेपालको पोखरा, काठमाडौंका साथै श्रीलंका र कम्बोडियामा एकल कवितावाचनसमेत गरिसकेका बाबाले अमेरिकाका विभिन्न राज्यमा रहेका अनेसास च्याप्टरको अवलोकन गर्नुका साथै भानु जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
कविता, निबन्ध र गीत लेखनमा क्रियाशील बाबाका समयले कोरेका रेखाहरू निबन्ध, दुई हरफ र दोसाँध गरी दुई कवितासङ्ग्रहका साथै गौरव, नेपाश्रीःलगायतका आधुनिक गीतिएल्बम प्रकाशित छन् ।
नेपाल राष्ट्रबैंकको उप–निर्देशकबाट सेवा निवृत्त बाबा हाल विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा क्रियाशील छन् ।

यसैबीच अनेसास गण्डकी समितिले सोमवार शुभयात्रा समारोह आयोजना गरी आयोजक संस्थाका पदाधिकारीलाई यो अवसर प्रदान गरेकामा आभार व्यक्त गर्दै नेपाल डे र बाबाको अमेरिका भ्रमणको सफलताको कामना गरेको छ ।