Tuesday, May 5

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

नेपालअखबार, काठमाडौँ  । चार दलको समाजवादी मोर्चाको पहिलो बैठकले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । ‘समाजवादी मोर्चाका सन्देशहरु दिनका लागि हामीले सातवटै प्रदेशमा केही दिनभित्रमा मलाई लाग्छ, साउन महिना लाग्छ होला । सातवटै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौं । त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने कुरा आउँदो २७ गते घोषणा हुन्छ । २७ गते दोस्रो बैठक हाम्रो यहीं हुन्छ ।’

Advertisement

त्यसैगरी बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेको उपाध्यक्ष पाण्डेले बताए । कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने र पारित हुनेछ । कार्यदलले मोर्चा नीति, आचारसंहितालगायतसहित कार्यक्रमहरु तय गर्ने पाण्डेले बताए ।

उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरुको सहभागिता थियो ।