Thursday, July 16

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

नेपालअखबार, रामेछाप। रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन्।

Advertisement

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।

Advertisement
Advertisement

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए।

Advertisement

दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्याङ्क छैन। दोरम्बा सैलुङ्गका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले भने, ‘दोरम्बा सैलुङ्गमा तथ्याङ्क सङ्कलनको तयारी गर्दैछौं।’

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्।

निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।रोगबाट किसानले करोडौँ रूपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगङ्गा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरू मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ।