Tuesday, July 28

मध्यरातमा हात्तीले घर भत्काउन थालेपछि…

नेपालअखबार,  टीकापुर । २ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो। निदाएका कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो। कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो।

Advertisement

कालीदेवीले केही सोच्नै सकिनन्। हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो।

Advertisement
Advertisement

‘हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचें’, कालीदेवीले भनिन्, ‘घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो। हामी घरमा चार जना थियौं, छोरी, छोरा र १३ वर्षको नाति। बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन।’

Advertisement

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टिको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो। कालीदेवीका अनुसार हात्ती अगाडितिरबाट आएको भए भाग्न सकिने थिएन।

‘हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौं’, उनले भनिन्, ‘यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म पुगिएछ। हामी कराउँदै भागेका थियौं। खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौं।’

कालीदेवीका श्रीमान दानबहादुर सुनार रोजागारीका लागि भारतमा छन्।

परिवार कराउँदै दौडन थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए। राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन्। यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन्। यसरी पटकपटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ।