
नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउनुहुँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताउनुभयो ।
लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताउनुभयो ।
प्रधामन्त्री प्रचण्डले भन्नुभयो- ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र छति पनि ।’
आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागकाे ध्यानाकर्षण गराउनुभयाे । प्रधामन्त्रीले बैठकमा भन्नुभयो-‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।’
चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताउनुभयो ।
लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो -‘गाई भैसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठुलो समस्यामा पारेको छ । किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । ‘

