Friday, February 20

लम्पी स्किनबाट मधेसमा मरे २ हजारभन्दा धेरै पशु

नेपालअखबार । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन्।

प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो।

Advertisement

जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा धेरै गाईवस्तु मरेको तथ्यांकले सार्वजनिक गरिएको हो।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी, एक हजार एक सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम दुइटा मरेका छन् ।

लम्पी स्किनका कारण सबभन्दा बढी गाईगोरू मरेका छन्। मरेकामध्ये भैंसीराँगा ६ वटा मात्र छन् भने बाँकी गाईगोरू हुन्। मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार आठ सय २५ पशुलाई लम्पी स्किन विरूद्धको खोप लगाइसकिएको पशु अधिकृत चिकित्सक डा. रञ्जितकुमार अधिकारीले बताए।

अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरू गरिएको छैन भने सर्लाहीमा सबभन्दा बढी, १२ हजार तीन सय २५ पशुलाई खोप लगाइएको छ।

सोमबार रोगविरूद्धको खोप अभियान जनकपुरधामस्थित सीताराम गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको जानकारी दिए।

मन्त्री न्यौपानेका अनुसार यस्ता महामारीको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्नेछ। स्थानीय सरकारले रोगविरूद्धको खोप आफ्नो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियान कारूपमा खोप लगाउन सुरू गरेपछि रोग नियन्त्रण हुने विश्वास लिइएको छ। रासस