Tuesday, May 12

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले रोड म्याप बनाइरहेको छ : मन्त्री बस्नेत

नेपालअखबार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले विद्युत् उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधन गर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना अन्तिम चरणमा पुगेको बताए ।

Advertisement

मन्त्री बस्नेतले मन्त्रालयले बनाएको ऊर्जा विकासको रोड म्याप र कार्य योजना कार्यसँगै विद्युत् उत्पादन र खपतका समस्या सम्बोधन हुने बताए । उनले विद्युत् उत्पादकहरुले एउटा फाइल पास गर्नको लागि ७ वटा मन्त्रालय धाउनु पर्ने अवस्थामा समन्वय गरी काम गर्ने बताए । उनले ऊर्जा मन्त्रालयले फाइल पठाउँदा वन र  विद्युत् विकास विभागले तयारी नपुगेको भन्दै फाइल केही समय होल्ड गर्न भन्ने जानकारी आफूलाई आएको बताए ।

मन्त्री बस्नेतले उत्पादन भएको विद्युतको आन्तरिक खपत हेर्दा नेपालको उत्पादन २ हजार ८६४ रहेको भन्दै आगामी एक वर्षमा ४ हजार माथि पुग्ने बताए । उनले मुलुकको अर्थतन्त्रको अवस्थाले विद्युत् उत्पादनको क्षमता निर्धारण गर्ने हुँदा सरकारको प्रक्षेपण र उत्पादन क्षमता बढाउने भनेर मात्रै नहुने अवस्था रहेको बताए । उनले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को वृद्धिलाई ७.२ मा स्थिर राख्न सक्यौँ भने आगामी १० वर्षको १२ हजार विद्युत् उत्पादन गर्न सक्ने अवस्था रहेको बताए ।  उनले अर्थतन्त्रलाई स्टेवल बनाउन सक्यौँ भने विद्युतको आन्तरिक खपतको क्षमता पनि १२ हजार पुग्ने दाबी गरे । उनले आन्तरिक खपत भन्दा बढी भएको विद्युतलाई व्यापार गर्नुको विकल्प नरहेको बताए ।

मन्त्री बस्नेतले वर्तमान अवस्था, सम्भावना, आवश्यकताहरु  र अहिले विकसित हुँदै गएको अवस्थाहरुलाई ध्यान दिएर यसको व्यवस्थापन गर्ने नीति र मोडालिटी बनाउन जरुरी रहेको उल्लेख गरे ।

मन्त्री बस्नेतले सरकारले २५ हजार विद्युत् उत्पादन गर्ने गरी ऊर्जा विकासको रोड म्याप र एक्सन प्लान्ट बनाइरहेको बताए । उनले सरकारले अब लक्ष्य मात्रै राख्दैन कुन–कुन आयोजनाबाट २५ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ त्यस्ता आयोजनाहरुको लिष्ट तयार पर्ने बताए । उनले २५ हजार भार धान्न सक्ने पूर्वाधार, ट्रान्समिसन लाइन र सवस्टेशनहरुको निर्माण र विद्युत् उत्पादनका लागि लगानीको वातावरण बनाउने काम गर्ने बताए ।