Thursday, July 16

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, तीन दिन स्कुल बन्द

नेपालअखबार, पाेखरा । पोखरामा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि पोखराका स्कुलहरू तीन दिनका लागि बन्द गरिएको छ।

Advertisement

आँखा पाक्ने रोग विशेषगरी बालबालिकामा धेरै देखिएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको पोखरा महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले बताए।

Advertisement
Advertisement

‘आँखा पाक्ने रोगले विद्यालय आउने विद्यार्थीको संख्या घटिरहेको छ,’ उनले भने, ‘रोग नफैलियोस् भनेर हामीले सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेका छौं।’

Advertisement

पोखराका मेयर धनराज आचार्यको संयोजकत्वमा सोमबार बसेको सरोकारवालाको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको सुवेदीले बताए।

गण्डकी प्रदेशमा आँखाको उपचार गर्ने एकमात्र अस्पताल हिमालय आँखा अस्पतालमा अहिले दैनिक १४ सय जनासम्म बिरामी आउने गरेका छन्।

अस्पतालको क्षमता दैनिक ८ सय जनालाई सेवा दिने भए पनि अहिले कर्मचारीको अतिरिक्त समय घटाएर उपचार सेवा दिइरहेको अस्पतालका स्वास्थ्य निर्देशक डा. इलिया श्रेष्ठले बताइन्।

गण्डकीका सरकारी र निजी अस्पतालमा आँखाको विशेषज्ञ सेवा उपलब्ध छैनन्।

हिमालय आँखा अस्पतालले गण्डकी र कर्णाली प्रदेशको २७ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालन गरेको छ।

उक्त केन्द्रबाट प्राथमिक उपचार र परामर्श सेवा प्रदान गर्ने गरेको नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले बताए।

अहिले फैलिरहेको आँखा पाक्ने रोग विगतकावर्षह पनि देखिने गरेको थियो। यसपालि प्रकोपकै रूपमा फैलिएको अस्पतालका स्वास्थ्य निर्देशक श्रेष्ठले बताइन्।

‘विगतका वर्षहरूमा हिउँद र वर्षा दुवै याममा यस्ता रोग देखिन्थे, तर यति धेरै फैलिएको थिएन,’ उनले भनिन्, ‘यसपालि धेरै जनालाई आँखा पाक्ने रोगले सताएको छ।’

दैनिक ६ सय बिरामी आउने हिमालय आँखा अस्पताल पोखरामा दोब्बर बढी बिरामी आँखाको उपचार गर्न आइरहेको उनले बताइन्। बिरामीमध्ये अधिकांश बालबालिका छन्।

आँखा पाक्ने रोग एक प्रकारको भाइरसबाट सर्ने भएकाले संक्रमित व्यक्तिले प्रयोग गरेका कुनै पनि वस्तु प्रयोग गर्न नहुने डा. श्रेष्ठले बताइन्।

‘आँखा पाक्ने रोग भाइरसले गर्दाखेरी लागेको हो, जुन भाइरस हाम्रै वातावरणमा छ,’ उनले भनिन्, ‘संक्रमितले प्रयोग गरेका कुनै पनि वस्तु प्रयोग गर्नुहुँदैन, कालो चस्मा प्रयोग गरेर पनि सावधानी अपनाउनुपर्छ।’

बारम्बार आँखामा हात लैजान नहुने, साबुनपानीले हात धोएर मात्र आँखामा छुने, संक्रमितले प्रयोग गरेका औषधी, टावेल लगायत कुनै पनि वस्तु प्रयोग नगर्न उनले सुझाव दिएकी छन्।

अहिले गर्मी मौसममा आँखा पाक्ने रोगको भाइरस बढी सक्रिय हुने भएकाले बिरामी बढेको उनले बताइन्।

‘गर्मीमा भाइरस एक्टिभ हुन्छ, त्यसैले बिरामी बढेका हुन्,’ उनले भनिन्, ‘आँखामा यो रोग लाग्यो भने मिच्न हुँदैन, अस्पताल गएर उपचार गर्नुपर्छ।’