Thursday, July 16

कर्मचारीहरूलाई रोजेकै ठाउँ चाहिने, दुर्गममा जानै नचाहने देखियो :मन्त्री मोदी

नेपालअखबार, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफू पदमा रहँदासम्म प्रशासनिक सुधारमा लागिरहने बताएका छन् ।

Advertisement

सङ्घीयता कार्यान्वयनका सम्बन्धमा मङ्गलवार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले राजनीतिक र प्रशासनिक दबाबका बीच आफूले कर्मचारीतन्त्रमा सुधार ल्याउने प्रयास गरिरहेको बताए ।

Advertisement
Advertisement

उनले भने,‘ कर्मचारीहरूलाई रोजेकै ठाउँ चाहिने, दुर्गममा जानै नचाहने देखियो, मैले अव यो वा त्यो कारणले हुँदैन, कर्मचारी भएपछि जहाँबाट पनि सेवा गर्नुपर्छ भनेरै सुगमका कर्मचारीलाई दुर्गममा सरुवा गरिरहेको छु ।’

Advertisement

कर्मचारीलाई स्थानीय तहमा पठाउँदा हाजिर गर्न नदिएको प्रसङ्ग कोट्याउँदै मोदीले भने,‘ निमित्तका भरमा स्थानीय तह चलेपछि मैले प्रमुख प्रशासकीय अधिकृत पठाएँ, त्यहाँ हाजिर गर्न नदिने अवस्था आयो, खाता नै रोक्का गरिदिएपछि बल्लबल्ल हाजिर गर्न दिइयो । यस्तो छ अवस्था । मेयरले रुचाएको व्यक्ति चाहियो भनेर आउँछन् । अब यसो हुँदैन ।’

उनले नेपाल भनेको काठमाडौँ, भक्तपुर र ललितपुर मात्रै नभएर अछाम डोटी, हुम्ला, जुम्ला, सोलुखुम्बु, सङ्खुवासभा, पाँचथर पनि हो भन्ने कुरा कर्मचारीले बुझ्नुपर्ने बताए । ‘ दुर्गमका मालपोत कार्यालय हेर्‍यो, कर्मचारी छैनन्, स्थानीय तह हेर्‍यो, कर्मचारी छैनन् कर्मचारी त सुगममा मात्रै भीड लागेको देखिन्छ,‘ मोदीले भने,‘ अब यसरी चल्दैन भनेरै दुर्गमका कर्मचारीले पनि सुगम ठाउँमा काम गर्नुपर्छ र दुर्गमकाले पनि सुगममा काम गर्ने अवसर पाउनुपर्छ ।’

मन्त्री मोदीले कर्मचारीतन्त्रमा देखिएको गन्जागोलको अवस्थालाई आफूले सुधार गर्ने बताए । उनले भने,‘ यो देशको कर्मचारी तन्त्रको बारेमा भन्न पर्दैन । मैले इतिहासमा कसैले गर्न नसकेको सुधार गरेको छु । कहिलेकाहीँ टीकाटिप्पणी पनि आउँछ । तर, म जतिदिन मन्त्रीको रूपमा रहन्छु, सुधार गर्नेतर्फनै ध्यान दिन्छु ।’

तीन पटकसम्म जनप्रतिनिधिको रूपमा आफू जितेर आएकाले एक पटक जनताको सेवा गर्ने मौका पाएको भन्दै मोदीले भने,‘ कति साथीहरूले जनप्रतिनिधि भएको १० देखि १५ वर्ष सम्म पनि काम गर्ने मौका पाएका छैनन् । मैले पनि तेस्रो पटकमा मन्त्रीको जिम्मेवारी पाएँ । मन्त्रीको जिम्मेवारी पटक पटक नपाउने पनि हुनसक्छ । जतिसम्म रहन्छु केही नमुना काम गरेर प्रशासनिक सुधार गर्छु ।’