
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का कार्यवाहक अध्यक्ष डा. बेदुराम भुसालले विभेद र उत्पिडनको अन्त्य कम्युनिष्टहरूबाट मात्र सम्भव हुने बताउनु भएको छ ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री समेत रहनु भएका डा.भुसालले विश्व आदिवासी दिवसको अवसरमा बुधबार नेपाल आदिवासी जनजाति महासंघ समाजवादीले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विभेद असमानता अन्याय अत्याचार र उत्पिडनको अन्त्य कम्युनिष्टहरूबाट मात्र सम्भव भएको बताउनु भएको हो ।
कविला जातिहरूको उत्पीडन अन्त्य गर्नुपर्छ भन्ने माग र अभियान कम्युनिष्टहरूले नै सुरुवात गरेको भन्दै डा. भुसालले नेपालको सन्दर्भमा प्राप्त भएका संरचनागत कानुनी र संवैधानिक व्यवस्थाहरू विश्व समुदायको लागि समेत उदाहरणीय भएपनि पर्याप्त नभएको बताउनु भयो । नेपालको सन्दर्भमा भएका जातीय अन्तरविरोध असमानता र विभेदलाई समाजवादी आन्दोलनले मात्र अन्त्य गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, सचिव नागेन्द्र चौधरी ,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा लगायतले नेपालको जनजाति आन्दोलन उपलब्धि र चुनौतीका सवालमा बोल्नु भएको थियो ।

