Sunday, July 26

जसपाले तीन महिने अभियान सुरु गर्दा अध्यक्ष यादव भने भारत भ्रमणमा

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टीले नयाँ विधान अनुसार पार्टीलाई सुदृढ गर्न तथा सङ्गठन विस्तारका लागि तीन महिने अभियान सञ्चालन गरेको छ । तर यहीँ बेला पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा छन् ।

Advertisement

एउटा बिहेको कार्यक्रममा सहभागी हुनका लागि उनी भदौ ९ गते भारतको केरेला पुगेका थिए, तर हालसम्म फर्केका छैनन् । पार्टी स्रोतका अनुसार अध्यक्ष यादव अझै केही दिन भारतमै रहने छन् । उनी भदौ २१ गते मात्र स्वदेश फर्किने बताइएको छ । भारत भ्रमणमा गएपछि उनले पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाएका छन् ।

Advertisement
Advertisement

पार्टी तीन महिने अभियानमा छ, समाजवादी मोर्चा प्रदेशमा आम सभाहरू गर्दै छन्, देशमा एमसीसीलगायत अन्य भ्रष्टाचार मुद्दाहरूको विवाद चलिरहेको छ । यस्तो अवस्थामा उनी भारत भ्रमणमा गएको भन्दै मोर्चामा पनि अनेकन् टिप्पणी हुने गरेको छ ।

Advertisement

गौर घटनाको फाइल खोलेपछि उपेन्द्र यादव र सरकारको दुरी बढेको छ । सरकारसँग दुरी बढ्ने बित्तिकै उनी लामो समयका लागि भारत भ्रमणमा निस्केका हुन् । १७ वर्षअघि भएको गौर घटनामा उपेन्द्र यादव दोषी रहेको भन्दै उनको विरुद्धमा प्रहरीमा उजुरी परेको थियो । त्यसको छानबिनका लागि गृह मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेको छ ।

यता, जसपाले नयाँ विधान अनुसार पार्टीका समितिहरूलाई अद्यावधिक गर्न सुरु गरेको छ । त्यसका लागि अभियान नै चलाएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । ‘यो अभियान भदौदेखि चलिरहेको छ । प्रदेश तथा जिल्लाहरूमा बैठक बसेर समितिलाई अद्यावधिक गर्ने काम भइरहेको छ । जहाँ समिति बनेको छैन, त्यो समिति पार्टीको विधान २०८० अनुसार गठन हुन्छ, जहाँ गठन भइसकेका छन् त्यसलाई बिस्तारै ‘अपडेट’ गर्दै जान्छौँ’, प्रवक्ता सुमनले भने, ‘यसअघिको अन्तरिम विधान महाधिवेशनसम्म पनि लागु रहन्छ, कतिपय समिति अन्तरिम विधानअनुसार बनेको छ, त्यो महाधिवेशनसम्म रहन्छ ।’

भदौ ३ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले नयाँ विधान अनुसार जिम्मेवारी बाँडफाँट गरेको छ । र त्यही बैठकबाट पार्टीका नयाँ विधान कार्यान्वयन गर्ने सर्कुलर पनि जारी गरेको थियो । जसपाले नयाँ विधानअनुरूप आफ्ना सङ्गठनहरूलाई गठन, पुनर्गठन र रूपान्तरण गर्ने अभियानको सुरुवात गरेको थियो ।

पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरूप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकताअनुसार गठन पुनर्गठन गर्ने प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

त्यस्तै जिल्ला-विशेष जिल्ला समन्वय समितिहरूलाई पनि यथाशीघ्र विधानबमोजिम

जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिसकेको छ ।

पार्टीले आगामी कार्तिक मसान्तभित्र नामावलीसहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलार्ई निर्देशन पनि दिएको उनले बताए । सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने निर्देशनमा भनिएको छ ।

त्यस्तै, जसपाले केन्द्रीय नेताहरूलाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ । ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको प्रमुख बस्नेतले बताए ।

नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरूलाई प्रशिक्षित गरिने बताइएको छ । यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुने छन् । सोही बमोजिम पार्टीले ९ गतेदेखि प्रदेश तथा स्थानीय तहहरूमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

भदौ ११ गते मधेस प्रदेश समितिको पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकले मधेस प्रधेसमा रहेको आठ वटै जिल्लामा विस्तारित बैठक बस्ने निर्णय गरेको छ ।