Friday, April 24

अस्पतालमै कपडाका मास्क

काठमाडौँ — बजारमा सर्जिकल मास्कको अभाव भएपछि राजधानीका सरकारी अस्पतालका स्वास्थ्यकर्मीले कपडाको मास्क प्रयोग गर्न थालेका छन् । शल्यक्रिया कक्ष र आईसीयूमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले अनिवार्य सर्जिकल मास्क प्रयोग गर्नुपर्ने भए पनि नभएपछि कपडाको मास्क प्रयोग गर्न थालिएको हो ।

वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १ हजार ५ सय छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले सर्जिकल मास्क पाइन छाडेपछि कपडाका सिलाउन दिइएको बताए । ‘इमर्जेन्सीमै एक सय जना स्वास्थ्यकर्मी खटिएका हुन्छन् । ती सबैलाई दिनको एउटा मास्क दिन पनि सकिएको छैन,’ उनले भने, ‘कपडाको ५ हजार पिस मास्क सिलाउन दिइसकेका छौं, अब सर्जिकल मास्क प्रयोग गर्दैनौं ।’

Advertisement

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसीमा पनि मास्क पाइँदैन । आईसीयू र आइसोलेसन वार्डमा काम गर्ने चिकित्सकका लागि आवश्यक पर्ने ‘एन–९५’ मास्कसमेत न्यून मात्रामा रहेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘स्टाफका लागि जसोतसो व्यवस्था गरिरहेका छौं,’ उनले भने, ‘बिरामीलाई भने हामीले दिन सकेका छैनौं । उहाँहरूले नै व्यवस्थापनगर्नुपर्ने हुन्छ ।’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको फार्मेसीमा मास्क पाइँदैन । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि दैनिक ७ सय पिस आवश्यक भए पनि दिन नसकिएको निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए । कपडाका हजारवटा मास्क सिलाउन दिइसकेको उनले बताए । ‘सप्लायर्सले पनि थोरै मात्रामा मात्रै मास्क दिइरहेको छ । स्टकको पनि सकिन लाग्यो,’ उनले भने, ‘पहिले हामीले कपडाकै मास्क लगाएर शल्यक्रिया गर्थ्यौं । सर्जिकलभन्दा कपडाकै सुरक्षित हुन्छ ।’ खबर कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *