Sunday, August 2

पोखराका सडकमा जोडिए २००० बत्ती

नेपालअखबार, पोखरा । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ ।

Advertisement

२००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement
Advertisement

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरढाका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । स्मार्ट बत्ती जडान गर्न कुल १४ करोड ६५ लाख रुपैयाँ लगानी लागेको प्रधिकरणको भनाइ छ । बत्ती जोड्न टप्सन इनर्जीले ठेक्का पाएको थियो ।

Advertisement

राष्ट्रिय सडकबत्ती प्रवद्र्धन परियोजना प्रमुख प्रमोद रिजालले जोडिएका स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको जानकारी दिए । उनले जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको जानकारी दिए ।

‘सबै गरेर पोखराका ६० किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्छ । यसमा भएको पूरा खर्चमध्ये न्यूरोडको डिभाइडर बनाउन एक करोड, मास्ट लाइट सुरक्षाका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ’, रिजालले भने । बत्ती जडान गर्न ४ सय ३९ वटा नयाँ पोल जडान गरिएको छ ।

रिजालका अनुसार पोखरामा जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ । ‘सुर्यास्तपछि आफैैं बल्छ । त्यसपछि १० बजेसम्म बढी उज्यालो हुन्छ भने विस्तारै अटोमेटिक घट्दै जान्छ’, उनले भने, ‘नबलेको, बिग्रिएको थाहा हुने भएकाले तत्काल मर्मत गर्न पनि सकिन्छ ।’

बत्तीमा प्रयोग गरिने फोरजी सिमले कति विद्युत खपत गर्छ भन्नेबारे पनि जानकारी राख्ने उनले सुनाए । बत्तीमा जडित सिस्टमले सूर्योदय र सूर्यास्त समय आफैं पत्ता लगाउने हुनाले सोहीअनुसार स्वचलित रुपमा बत्ती बल्ने र निभ्ने उनको भनाइ थियो । ‘यसले पोखराको सुरक्षामात्रै होइन, पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास हाम्रो छ’, उनले भने ।

ललितपुर, धनगढीपछि पोखरामा सुरु गरिएको स्मार्ट सडकबत्तीको निर्माण ठेक्कासँगै ५ वर्षका लागि मर्मत सम्झौता पनि भएको जानकारी रिजालले दिए । उनले ५ वर्षभित्र बत्तीमा कुनै खराबी आए वा बिग्रिए ठेकेदार कम्पनी टप्सन इनर्जीले नै निशुल्क बनाइदिने सम्झौता छ ।

प्राधिकरणले नेपालमा जडान गर्दै आएको स्मार्ट लाइट भारतको जयपुर, दिल्ली लगायत सहरमा पनि सफल प्रयोगमा आइसकेका छन् ।