
नेपालअखबार, काठमाडाैं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा करिब ९५ लाख घनमिटर जल भण्डारण क्षमतासहितको नागमती बाँधको वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा करिब ९५ लाख घनमिटर जल भण्डारण क्षमतासहितको नागमती बाँधको वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार भएको छ।
वातावरणीय प्रभाव मूल्याङ्कनसहितको प्रतिवेदन वन मन्त्रालयमा पेश भएको छ।
मन्त्रालयले संघ–संस्था र व्यक्तिहरूबाट राय सुझाव मागेको छ। इआइए प्रतिवेदन वन मन्त्रालयको वेब साइटमा राखिएको बताइएको छ।
बाँध नागमती नदी र बागमती नदीको सङ्गम स्थलभन्दा तीन किलोमिटरमाथि बन्ने छ।
मुलखर्क गाउँ नजिकै बन्ने बाँध शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने मन्त्रालयले जानकारी दिएको छ।
नागमती बाँध परियोजनाको लागत २ अर्ब ३९ करोड अनुमानित गरिएको थियो। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा केही हेरफेर गरिएकोले लागत थपघट भएको आयोजनाले बताएको छ।
बाँधको उचाइ ९४.५ मिटर हुने छ। त्यस्तै लम्बाइ ५५४ मिटर र क्रेष्टमा ७ मिटर चौडाइ हुने बताइएको छ।
४८०, ४२६ वर्ग मिटरमा फैलिएको बाँधमा ९४.८४ लाख घनमिटर पानी भण्डारण हुने इआइए प्रतिवेदनमा उल्लेख छ।
बाँध बनाउने ६५.३०४ हेक्टर जमिनको आवश्यकता पर्ने बताइएको छ। जसमध्ये ६२.९७७ हेक्टर जमिन स्थायी रूपमा आवश्यक पर्ने छ। त्यस्तै २.३२७ हेक्टर जमिन अस्थायी रूपमा आवश्यक पर्ने बताइएको छ।
आवश्यक जग्गा मध्ये ६५.००९ हेक्टर वन क्षेत्र ०.२९५ हेक्टर निजी जग्गा आयोजनाले प्रस्ताव गरेको छ।
जलासयका अतिरिक्त पेनस्टक, पावरहाउस, स्पिल वे, टरवाइन, पुल तथा विद्युत प्रसारण लाईन जस्ता संरचनाहरू निर्माण हुने आयोजनाले जानकारी दिएको छ।
यसर्थ वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (६) बमोजिम यस प्रतिवेदनमा राय सुझाव दिन व्यक्ति–संस्थालाई आग्रह गरेको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिवेदन वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय हरिहर भवनमा उपलब्ध रहेको मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालय, जिल्ला समन्वय समिति, गोकर्णेश्वर नगर कार्यपालीकाको कार्यालयमा पनि उपलब्ध छ।
वन तथा वातावरण मन्त्रालयको वातावरण प्रभाव मूल्याङ्कन शाखामा राय–सुझाव पठाउन सकिने बताइएको छ।
यसअघि बागमती सुधार आयोजनाअन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमै धाम बाँध निर्माण गरिएको थियो। ५१ करोड बढी लागतमा निर्माण भएको धाप ड्यामबाट सुख्यायाममा प्रतिसेकेन्ड चार सय लिटर पानी बगाउने लक्ष्य राखिएको छ।
झन्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको बाँध क्षेत्रमा ८ लाख ५० हजार घनमिटर पानी भण्डारण गर्न सकिने परियोजनाले बताएको छ।


