भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ खर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष २०७९–८० मा ४३ अर्ब रूपैयाँले घटेर १ खर्ब ५७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको तथ्यांक रहेको छ ।
निर्यात घट्नुको प्रमुख कारण नै खाने तेल हो । भारत र अन्य मुलुकबाट पाल्म, तोरी र भटमास आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गर्ने गरेका कारण निर्यात घटेको हो ।
अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै मात्र भारत निकासी गर्ने अन्य वस्तु पनि छन् । सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ ।
गत आर्थिक वर्षमा तोरी मात्रै २४ अर्ब ६ करोड ३ लाखको आयात भएको तथ्यांक छ । यसैगरी कच्चा पाम आयल मात्र २५ अर्ब ९१ करोड ५४ लाख ८७ हजारको आयात भएको देखिएको छ । यसमा पनि प्रशोधित पाम आयलका अन्य कच्चा पदार्थ ३० अर्बभन्दा बढीको आयात भएको देखिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।