गरुडा महमदपुरमा श्रीराम सुगर मिल्स स्थापना हुनु अघि जिल्लाको अधिकांश गाउँमा ठुलो आर्थिक विपन्नता छाएको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद प्रसाद कोइरालाको पहलमा २०५१ सालमा गरुडा स्थित श्रीराम सुगर मिलको स्थापना भएको थियो । उद्योगपति दिवाकर गोल्छाको सुमधुर व्यवहार र सहयोगले जिल्लाको प्रायः सबै गाउँका किसानले नगदे बालीको रूपमा उखु खेती सुरू गरेका थिए। खास गरी बलौटे माटो भएको लालबकैया नदी किनारका गाउँ हरू भसेढवा , झौवा, हरसाहा, फटुवा, बरगिनिया, घुसुकपुर, मर्यादपुर, गमहरीया, टिकुलिया, कर्कच, बहादुरपुर, समनपुर, धरमपुर,सिङरमन लगातार लगायत गाउँका किसानले एकैपटक उखु खेती गर्न सुरु गरेका थिए।
उखु खेती सुरुगारेको दुईतीन वर्ष नबित्दै सबै गाउँको आर्थिक अवस्था सुधार हुँदै गायो। चिनी मिल सञ्चालन भएको ५ वर्ष नबित्दै प्रत्येक गाउँमा दर्जन बढी ट्याक्टर , दर्जनौँ मोटरसाइकल खरिद भयो भने लाखौं रुपैयाँ किसानहरूको बैङ्क खातामा जम्मा भएको कटहरिया १ भासेढवाका किसान तथा समाजसेवी जावाहर यादव बताउँछन्।
दसकौँ देखि बाँझो रहँदै आएको जग्गाहरूमा उखु खेती सुरु भएको थियो। श्रीराम सुगर मिल्स तथ्याङ्क अनुसार रौतहटमा उखु खेती गर्ने किसानको सङ्ख्या २० हजार माथि पुगेको थियो।
श्रीराम सुगर मिल्स पनि प्रत्येक बर्ष राम्रो नाफामा रहँदै आएको थियो। मिलले पनि किसानलाई बिउ, मलखाद, लगायत हरेक प्रकारको सहयोग गर्दै आएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताए। तर पछिल्लो समय घाटा धान्न नसक्ने भन्दै २६ बर्ष सञ्चालन रहेको जिल्लामै सबभन्दा ठुलो उद्योगको रूपमा रहेको चिनी मिल २०७७ साउन ११ गते सधैँका लागी बन्द भएको थियो ।
श्रीराम सुगर मिल बन्द हुँदा उखुखेती गर्ने जिल्लाका २० हजार भन्दा बढी किसान प्रत्यक्ष मारमा परेका छन् ।