
नेपालअखबार, काठमाडाैं । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ। मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट– याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन्।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरूङमै थप गरेर काठमाडौं ल्याउने तयारी छ। सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनको भनाइ छ।
यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए। उनले भने, ‘एडिबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावतसहितको गर्नुपर्छ, यसले गर्दा यस भेगको पर्यटन प्रवर्द्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्छ।’
यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको जनाइएको छ। यस विषयमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी तथा सरोकारवाला निकायसँग चरण–चरणमा छलफल गरिसकेको र यसलाई निरन्तर अघि बढाइने अध्यक्ष शेर्पाको भनाइ छ। सो प्रस्तावमा मेलम्ची खानेपानी विकास समिति पनि सकारात्मक रहेको बताइएको छ। रासस

