Tuesday, July 28

मणिपाल अस्पतालमा डाक्टर कुट्ने दुईजना कारागार चलान

नेपालअखबार, पाेखरा। तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् ।

Advertisement

उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

Advertisement
Advertisement

प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो।

Advertisement

प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो। कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

उनका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी  भइरहेको छ ।

यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए ।

बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए ।

अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए।

सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए। रासस