
नेपालअखबार, विराटनगर । कोशी प्रदेशमा यस पटक धान उत्पादन सामान्य ढंगले बढ्न सक्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन् । कोशी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी जिल्ला धान उत्पादनको भण्डार नै मानिन्छ ।
यी जिल्लाहरूमा अहिलेसम्म रोग, किरा, पानी, बतासलगायतका समस्याले धानमा ठुलो असर गरेको छैन । कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख तथा कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीका अनुसार झापा, मोरङ र सुनसरीमा यस पटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको बताए ।
‘अहिलेसम्मको अवस्था हेर्दा धान कोशी प्रदेशमा राम्रो उत्पादन हुने देखिएको छ । विगत वर्षको तुलनामा घट्ने भन्दा सामान्य बढ्न सक्ने हाम्रो अनुमान छ,’ डाँगीले भने, ‘रोग, किरा तथा हुरी बतास र पानीले यस पटक ठुलो असर गरेको रिपोर्ट छैन ।’
३ लाख ३२ हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । यो ९७.६७ प्रतिशत रोपाई भएको हो । गत वर्ष ९७.१ प्रतिशत अर्थात् ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । कोशी प्रदेश कृषि निर्देशनालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–२०८० मा भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन भएको थियो । कोशी प्रदेशमा धान उत्पादन हुने जमिन ३ लाख ४० हजार ८२९ हेक्टर रहेको छ ।

