Monday, July 6

बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु

नेपालअखबार, लमजुङ । लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्र सुरु भएको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र सुरु भएको हो ।

Advertisement

स्तरोनन्ति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्यसम्पन्न भएको छ भने नाली र अन्य केही संचरना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेको थियो । उक्त खण्डमा कालोपत्रको काम अघि बढ्दा स्थानीय उत्साहित भएका छन् ।

Advertisement
Advertisement

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुने इञ्जिनियर अधिकारीले बताए । उनका अनुसार बस्ती भएका ठाउँमा भने दुईतर्फी नै नाली निर्माण गरिने र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ ।

Advertisement

यस सडकको तेस्रो चरण तथा अन्तिम चरणअन्तर्गत कालोपत्रे सम्पन्न भएसँगै रोड माकिर्ङ, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर र किलोमिटर पोस्ट राख्नेलगायतको काम हुने भएको अधिकारीको भनाइ थियो । उनका अनुसार विभिन्न पटक म्याद थप गर्दै आगामी असार मसान्तभित्रमा सबै काम सम्पन्न हुने सम्झौता भएको छ । हालसम्म ६५ प्रतिशत सडक स्तरोनन्तिको काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असारमा सम्झौता गरेर काम अघि बढाइएको थियो । कार्यालयका अनुसार रू ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रू २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ ।

कार्यालयका इञ्जिनियर अधिकारीले निर्धारित समय सकिएकाले आगामी मङ्सिर ९ गतेसम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको जानकारी दिए । “मङ्सिर ९ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । तिहारलगत्तै काम सुरु हुने र यसको म्याद पुनःथप गरिनेछ”, उनले भने ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण सुरु गरेको थियो । पछि जनयुद्ध र अन्य विभिन्न कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ देखि बनाउने जिम्मा पाए पनि सेनाले शान्ति प्रक्रियापछि मात्रै काम अघि बढाएको थियो ।

बेँसीसहरमा रहेको तत्कालीन नेपाली सेनाले विसंं २०६९ मा सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमी पर्दछ । रासस