Monday, August 24

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताएका छन् ।

Advertisement

हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताए । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उनले सामाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिए । राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उनले सन्देशमा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गरे ।

Advertisement

जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेकाले यसको सुदृढीकरणका लागि समयसापेक्ष संविधान परिमार्जन गर्न सकिने बताए । रासस