Thursday, July 30

नौबिसे सुरुङ छिचोल्न दुई सय मिटर मात्रै बाँकी छ: मन्त्री ज्वाला

नेपालअखबार, नागढुंगा। नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब दुई सय मिटर मात्रै बाँकी रहेको छ।

Advertisement

सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २४ सय ८७.४० मिटर सुरुङ खन्ने काम सकिएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार सुरुङमार्गको काम सम्पन्न गर्न भने अझै एक वर्ष समय लाग्नेछ।

Advertisement
Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालकाअनुसार आयोजना समयमै सक्ने प्रयास भइरहेको छ। मन्त्री ज्वालाले भन्नुभयो, ‘मुख्य सुरुङको ब्रेक थ्रु र फिनिसिङलगायतका कामहरू बाँकी छन्। गाडि चल्नका निम्ति केही समय लाग्ने देखिन्छ। तर, तोकिएको अवधिभित्र आयोजना सम्पन्न गर्नेगरी निर्देशन भएको छ।’

Advertisement

आयोजनाका अनुसार वर्किङ अडिटतर्फ १२६ मिटर काम भएको छ। त्यसैगरी क्रस प्यासेजतर्फ पनि एक सय २८ मिटरको मात्रै काम भएको छ। कुल सुरुङमार्गतर्फको भौतिक प्रगति भने ९६.४० प्रतिशत भएको छ। अझै ३.६० प्रतिशत काम बाँकी छ।

आयोजनाका प्रमुख नवीनमान श्रेष्ठका अनुसार सुरुङ मार्गको बाँकी लाइलिङ तथा अन्य प्रविधि जडानलगायतको काम सम्पन्न गर्न एक वर्ष समय लाग्नेछ।

सुरुङमार्गको हालसम्मको समष्टिगत भौतिक प्रगति ६५.३५ प्रतिशत र वित्तीय प्रगति ६०.८२ प्रतिशत भएको छ। आयोजनाका अनुसार फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गााको ९५ प्रतिशत मुआब्जा र क्षतिपूर्ति वितरण गरिसकेको छ।

सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तैछ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो।

यो परियोजनाको लागि पहिलो चरणमा ८६ दिन मात्रै म्याद थप गरिएको थियो। तर, थपिएको समयमा पनि आयोजना सम्पन्न नहुने भएपछि २५ अप्रिल २०२४ सम्म म्याद थप गरिएको छ।