
नेपालअखबार, धनकुटा। धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।
बिहीबार बिहान करिब साढे ७ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर १ निगालेस्थित एक घरमा परिवारका तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजुबाबु महर्जनले जानकारी दिए।
३५ वर्षीय श्रीमान् टीकाराम गुरूङ, उनकी श्रीमती २६ वर्षीया भीमा गुरूङ र ११ वर्षीय छोरा आयुष मृत फेला परेको प्रहरीले जनाएको छ।
डिएसपी महर्जनका अनुसार भीमा र आयुषको हत्या भएको देखिन्छ। यता टीकाराम भने झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटना गए राति भएको हुनुपर्ने उनले बताए।
‘श्रीमानले श्रीमती र छोराको घाँटी थिचेर हत्या गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘हत्यापछि श्रीमान् झुण्डिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ। यस्तै टीकाराम र भीमाका ६ वर्षीया आशिका छोरी पनि छिन्।
गए राति श्रीमान र श्रीमतीबीच झगडा भएको थियो। मापसे गरी झगडा भएपछि टीकाराम आफैंले छोरी आशिकालाई छिमेकीको घरमा छाड्न गएका थिए।
त्यसपछि नै घटना भएको हुनुपर्ने प्रहरीको अनुमान छ।
शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल वा धरान लग्ने तयारी छ।

