Wednesday, July 8

बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

नेपालअखबार,काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ।

Advertisement

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बारे आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

Advertisement
Advertisement

पुस २० गते मतदाता नामावली प्रकाशन

Advertisement

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ। प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्य सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उम्मेदवारको मनोनयन दर्ता पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। मनोनयन दर्तापश्चात् उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ।मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ। उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन अपराह्न २ बजे सम्पन्न हुनेछ। यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते उपलब्ध गराउने कार्यक्रम रहेको छ।