Thursday, July 30

झण्डै ८ किलो सुनसहित पक्राउ परेकालाई हुण्डी कारोबारको मुद्दा

नेपालअखबार, काठमाडौं । न्यूरोडमा झण्डै ८ किलो सुनसहित पक्राउ परेका ओमपाल गोल्ड सपका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको छ ।

Advertisement

जिल्ला अदालत, काठमाडौंले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धानका लागि ७ दिनलाई हिरासतमा राख्न अनुमति दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

Advertisement
Advertisement

‘सुन चाहिँ राजश्व अनुसन्धान विभागलाई थप अनुसन्धानका लागि पठाएका छौं’, उनले भने, ‘उनीबाट ४९ लाख ५० हजार अवैध रुपैयाँ पनि बरामद भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार म्याद थप गरेका हौं ।’

Advertisement

प्रहरीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।

केही सुन विस्कुट आकारमा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ । कार्यालयका एसपी रवीन्द्र रेग्मीले सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ ।

समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।