Friday, August 14

जनताको साहित्य लेख्न सम्मानित नेता खनालको अनुरोध

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको साहित्य लेखनमा केन्द्रीत हुन लेखक/सर्जकलाई अनुरोध गर्नु भएको छ।

Advertisement

शुक्रबार जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। संगठनका अध्यक्ष डा.पुष्कर भट्टको अध्यक्षता एवं पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पुरातनवादी साहित्यले समाजको दिमाग भुटेको आरोप लगाउनु भएको छ।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘दास युग, सामान्तवादी युगमा सामान्तवादी साहित्यकारहरूले मालिकको भक्तिभाव झल्किने साहित्य लेखेर जनताको दिमाग भुट्ने काम गरेका थिए। आज हामी पूँजिवादी युगमा छौं। अब हामीले आजको साहित्यलाई कसरी लेख्ने ? प्रगतिशील साहित्यकारले बुझ्नुर्पर्छ। आजका साहित्यकारहरूले जनताको साहित्य लेख्नुपर्छ। जाजरकोटमा भूकम्पपीडितहरू जाडोले मरिरहेका छन्। उहाँहरू त्यो अवस्था किन आयो? कसरी आयो ? यसका बारेमा लेख्नुपर्छ।’

Advertisement

सम्मानित नेता खनालले राजावादीहरूले राजसंस्थाको बारेमा बेकार हल्ला गरिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘यो पृथ्वीमा कुनै पनि चिजको जन्म हुन्छ र मृत्यु हुन्छ। त्यो जीव होस् कि सत्ता । त्यो एक पटक मरेपछि त्यसको पुनः जन्महुँदैन।’

प्रचण्ड सरकारले काम गर्न सकेन

नेता खनालले मुलधारका पार्टीहरूले जनताको काम गर्न नसकेपछि जनताहरूले विकल्प खोजिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘जनता कसैको पेवा हुँदैन। जनताको काम गर्ने सवालमा पुराना दलहरूले सिन्कोसम्म भाचेनन्। त्यसैको फाइदा अरुले उठाए।  अहिले प्रचण्ड नेतृत्वको सरकार छ। प्रचण्डै काम गर्छ कि भनेको के गर्नु ? आजको अवस्था निक्कै नाजुक छ। आर्थिक संकट झन् डरलाग्दो छ। आज हाम्रो देशलाई अस्थिर बनाएर फाइदा लिन खोज्दैछन्। एमसीसीले देशलाई कसरी धोका दिइरहेको छ? सबैलाई थाहा नै छ।’

नेता खनालले अगाडि भन्नुभयो, ‘अमेरिका र भारत पैतलादेखि शीरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेको छ। एमसीसीमा नेपाललाई अमेरिकाले फसायो। यो जोइन्ट प्रोग्राम हो। सुरुमा एउटा सहमति थियो। अहिले फरक कुरा सुनिदैछ। यसरी देश थप गन्जागोल बनाउने काम भइरहेका छन्। नेताहरू स्पष्ट हुनुपर्छ।’

कार्यक्रममा पार्टीका उपमहासचिव डा. विजय पौडेल, स्थायी कमिटी सदस्य भविषेश्वर पराजुली, पोलिटब्युरो सदस्य माधव पौडेल, देवशंकर पौडेल, प्रेममहल खनाल, केन्द्रीय सदस्य गिता सोडारी, जनसाँस्कृतिक महासंघ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमालालगायतका नेताहरूले मन्तव्य राख्नु भएको थियो।