Saturday, May 9

नौ वर्षसम्म पूरा भएन गमगढी–नाकच्यालाग्ना सडक

नेपालअखबार, मुगु । नौ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको मुगु सदरमुकामबाट उत्तरी चीन जोड्ने ९१ किलोमिटर सडक अझैँ सम्पन्न हुनसकेको छैन ।

गमगढी–नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको हो । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा रहेको छ ।

Advertisement

सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर वीरबहादुर जिटीले गमगढी–नाकच्यालाग्ना सडक २०७२ सालदेखि २०८० सालसम्ममा रु ३० करोड रकम खर्चेर १९ दशमलव ५ किलोमिटर ट्याक खोलेको बताए ।

सडक विस्तार र स्तरोन्नति गर्न चालु आर्थिक २०८०/८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिङ्ङ गर्न र ७ दशमलव ५  किलोमिटर  ग्राबेलका साथ नाला  निर्माणका लागि रु छ करोड  ५० लाख  रकम सङ्घीय सरकारबाट विनियोजित भएको छ ।

इञ्जिनीयर जिटीका अनुसार उक्त सडक निर्माणको ठेक्का अवधि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रहेको छ । उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका कम्पनीले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकायबाट म्याद थपेर अनुमति लिएका छन्।

साढे एक किलोमिटरको पहिरोमा ब्लास्टिङमार्फत सडक निर्माण गर्ने जिम्मा पाएको थोदुङयाराभान जेभीले हाल  छाँयालबाट स्काभेटरद्वारा सडक निर्माण गरिरहेको कम्पनीका सञ्चालक कार्मा तामाङले बताए । रासस