Saturday, August 22

सचिवालय वैठक आगामी शनिबार पुन: बस्ने गरी स्थगित

नेपालअखबार, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक लम्बिएको छ । विधान संशोधनबारे छलफल गर्न सोमबार र मंगलबारलाई बोलाएको बैठक पुनः शनिबार बस्नेगरी स्थगन भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

Advertisement

‘विधान संशोधन मस्यौदामाथि बैठकमा सहभागी नेताहरुले एकसरो धारणा राख्नुभएको छ’, नेता श्रेष्ठले भने, ‘अव शनिबार बस्ने बैठकमा छुटेका नेताहरुको धारण सुनेर अध्यक्षले आफ्नो धारणा राखेपछि बैठक सकिन्छ ।’

Advertisement
Advertisement

जारी सचिवालय बैठकमा नेता जगननाथ खतिवडा र धर्मनाथ प्रसाद साह भने उपस्थित छैनन् । खतिवडा विदेश भ्रमणमा छन् भने साह व्यक्तिगत कामले यो बैठकमा उपस्थित हुन नसकेको बताइएको छ । शनिबारको बैठकमा मस्यौदा प्रस्तुतकर्ता समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसालले समेत थप प्रस्ट पार्नेछन् ।

Advertisement

अधिवेशनहरु स्थगित

यसैबिच एकीकृत समाजवादीले विधान संशोधन प्रक्रियाअघि बढेको भन्दै तत्काललाई जिल्ला र नगर अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । मंगलबारको सचिवालय बैठकले तत्काललाई नगर र जिल्ला अधिवेशन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

‘आज एउटा निर्णय भएको छ । त्यो भनेको तोकिएका जिल्ला र नगर अधिवेशनहरु तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ’, श्रेष्ठले  भने, ‘माघ १५ गतेपछि मात्र मिति तोक्ने र त्योभन्दा अघि मिति तोकिएका अधिवेशनहरु स्थगित गर्न निर्देशन दिने निर्णय भएको छ ।’

सचिवालय बैठकमा नेता छनोट गर्ने विधिबारे व्यापक छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । विधान संशोधन मस्यौदामाथि छलफल हुँदा बहुमत नेताहरुले अहिलेको व्यवस्थालाई परिवर्तन गरेर जो कोही महाधिवेशन प्रतिनिधि छनोट हुँदा त्यो व्यक्ति तलैबाट छनोट भएर आउनुपर्नेमा एक मत रहेको बताए ।