Friday, July 17

ठेकेदारको लापरबाहीले तीन वर्षमा पनि बनेन अस्पताल

नेपालअखबार, खोटाङ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ।

Advertisement

दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो।

Advertisement
Advertisement

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

Advertisement

पटकपटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवनको बाँकी काम गरेको छैन। उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका  प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए।

अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए।

गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ मा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको थियो। रासस