Friday, July 31

जस्तो सुकै हतकण्डा अपनाउने व्यक्तिको नाम हो केपी ओली: महासचिव घनश्याम भुसाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओली आफ्नो स्वार्थका निम्ति जस्तो सुकै कार्य गर्ने नेता भएको टिप्पणी गर्नु भएको छ।

Advertisement

बुधबार पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त कुरा बताउनु भएको हो। सदस्यता विस्तार तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै महासचिव भुसालले भन्नुभयो, ‘आफ्नो स्वार्थका लागि मर्न, मार्न, संसद विघटन गर्न, पार्टी विभाजन गर्न, सबै हथकण्डा अपनाउने प्रवृत्तिको नाम हो केपी ओली।’

Advertisement
Advertisement

उहाँले अगाडि भन्नुभयो, ‘गरिबको नाम धनबहादुर, निरिहको नाम बलबहादुर भए जस्तै आज एमालेको हालत यस्तै नाम मात्र छ। आज एमाले ओलीतिर गयो। ओलीको मनमौजी, स्वछन्दतामा एमाले चलिरहेको छ। ओली आफ्नो स्वार्थका निम्ति सबै जायज ठान्छन्।’

Advertisement

महासचिव भुसालले एमाले भित्र ज्ञान र चिन्तनको संस्कृति हराएको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘आज एमालेभित्र ज्ञान, चिन्तन, अहिलेको उकुसमुकुसबारे बहस गर्ने अवस्था छैन। राष्ट्रियताका बारेमा सोच्ने कुरा एमालेमा हराइसक्यो। चुनावदेखि चुनावसम्मवाला र ओलीलाई जिताएपछि सबै थोक बन्छ भन्नेवाला एमालेमा छन्। अर्को माओवादको टोपी लगाएको अर्को पार्टी छ। विचार, सिद्धान्त भनेकै १८ वर्ष पुगेकाले भोट हाल्न पाउने हो भन्ने बुझाइ भएको अर्को पार्टी छ। यस्तो उकुसमुकुस चिर्न र समाजवादतर्फ जानका लागि, रोजगारीका लागि, सुशासनका निम्ति प्रयास गरिरहेको पार्टी भनेको हाम्रै पार्टी हो।’

संगठनका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य सुदेश पराजुलीको अध्यक्षता एवं पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतित्थ्यतामा राजधानीको भृकुटिमण्डप स्थित आरआर क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।