
नेपालअखबार, काठमाडौँ । दाङका च्याउ उत्पादक व्यवसायी किसान सन्तोष घिमिरेमाथि दिनदहाडै साङ्घातिक हमला गरी अङ्गभङ्ग बनाएको विषयप्रति अखिल नेपाल किसान महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । किसानमाथि गरिएको आक्रमणले कृषि पेसा तथा व्यवसायलाई नै निरुत्साहित हुने भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।
दाङको तुलसीपुर नगरपालिका वडा नं. १२ मा च्याउ खेती गर्दै आएका व्यावसायिक किसानमाथि माघ १ गते दिनदहाडै हमला भएको थियो । घिमिरेलाई आक्रमण तथा कुटपिट गरी अङ्गभङ्ग पार्नेलाई यथाशीघ्र गिरफ्तार गरी कानुनी कारबाही गर्न, घाइते घिमिरेको उपचारको यथोचित प्रबन्ध मिलाउन र च्याउ उत्पादनका लागि निर्माण गरिएका भौतिक संरचनाहरूमा तोडफोड गरी क्षति पुर्याएकोमा त्यसको क्षतिपूर्ति भराउन महासंघले ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।


