Tuesday, July 28

मिथिलाञ्चलमा गरियो हलो र गोरु पूजा

नेपालअखबार, जनकपुरधाम । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले  हलो र गोरुको पूजा गरेका छन्। किसानले आजको दिनलाई कृषि कार्यको सुरूआत मान्दै हलो र गोरूको पूजा गर्दछन्। किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाइनयाँ रङ्गीचङ्गी डोरी लगाएर पूजा पनि गरेका छन्।

Advertisement

जलेश्वर नगरपालिका–८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको बताए।

Advertisement
Advertisement

किसानले आजकै दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्। सरस्वती विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

Advertisement

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।