Tuesday, August 18

पदमार्गमा बन्यो झोलुङ्गे पुल

नेपालअखबार, मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ। स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो। थासाङ –२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले रु ४५ लाख ३२ हजार एक सय छ लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए।

Advertisement

‘म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो,’ उनले भने, ‘पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ।’ कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोंचमाथि झोलुङ्गे पुल निर्माण भएको हो।

Advertisement
Advertisement

स्थानीयवासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउँरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ। पुल निर्माणका लागि स्वाप कार्यक्रमले  ३४ लाख ७५ हजार पाँच सय १५, गाउँपालिकाले पाँच लाख ८९ हजार एक सय ७३, टिबिएसयुले तीन लाख ८६ हजार सात सय ७४ सहयोग र उपभोक्ताले रु ९० हजार छ सय ४२ बराबरको श्रमदान गरेका वडा कार्यालयले जनाएको छ।

Advertisement

धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको सेकुङ र भुतर्छो ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ। करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको गोलो आकारको सेकुङ ताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ। ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ।

समुद्री सतहबाट दुई हजार छ सय ८३ मिटरको उचाइमा सल्ला र धुपीका रूख रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाइ करिब पाँच सय मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर भएको अनुमान छ। थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो। सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ।

बेनी–जोमसोम सडकको ताङछरबाट तीन किलोमिटर पाँच सय मिटर कच्ची सडकको यात्रापछि पुगिने सेकुङ र भुतर्छो तालमा गाउँपालिकाले पदमार्ग, पर्खाल, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण गरेको छ। सेकुङ र भुतर्छो ताल म्हरक्पुं दोङ खोलाको वारिपारि छन्। रासस