Wednesday, August 12

वीरगन्ज विवादबारे सर्वदलीय बैठकको ५ बुँदे निर्णय

नेपालअखबार, वीरगन्ज । वीरगन्जमा दुई समुदायबिच उत्पन्न भएको विवाद सुल्झाउन बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले डाकेको सर्वदलीय बैठक ५ बुँदे सहमति गर्दै सकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।

Advertisement

सहमतिअनुसार पहिलो बुँदमा सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पर्ने प्रतिबद्धता जनाइएको छ ।

Advertisement
Advertisement

दोस्रो बुँदामा एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने, यस किसिमको गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।  यस्तै तेस्रो नम्बरमा  जिल्लाभित्र खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारबाहीमा सबैले सहयोग गर्ने उल्लेख छ ।

Advertisement

चौथो नम्बरमा भने जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक र्‍याली, जुलुस, बन्द हडताल लगायतका गतिविधिहरू कुनै पनि समुदाय संघ संस्थाहरुले नगर्ने सबै दलहरूले सहमति जनाएका छन् ।

अन्तिम नम्बरमा दलहरूले सामाजिक सञ्जालमा कुनै जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोस्ट गर्ने/गराउनेलाई प्रशासनले कडा कारबाही गर्ने सहमति भएको छ ।

सर्वदलीय बैठकमा सांसद प्रदीप यादव, बीरगन्जका मेयर राजेशमान सिंह, मुस्लिम अगुवाहरू शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारी लगायत प्रहरी प्रमुख, सशस्त्र प्रमुख तथा सबै राजनीतिक दलका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

sahamati letter pic