Monday, July 6

उपनिर्वाचन : फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने

नेपालअखबार, काठमाडौँ । २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ। यस कार्यक्रम अन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइट (www.election.gov.np) मा मतदाता नामावली प्रकाशन गरिनेछ।

Advertisement

उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उक्त अवधिमा अनलाइन https://applyvr.election.gov.np वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिने उनको भनाई छ ।

Advertisement
Advertisement

यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने उनको भनाई छ । अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली मिति २०८० चैत्र २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको छ।

Advertisement

निर्वाचनमा उम्मेदवारी दर्ता गर्न र मतदान गर्न मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था भएको हुँदा आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने लगायतका उल्लेखित कार्यक्रममा सहभागी हुन आयोगले आह्वान समेत गरेको छ । साथै, त्रुटिरहित र अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले उल्लिखित कार्यक्रममा प्रचारप्रसार, समन्वय, सहयोग र सहकार्यका लागि राजनीतिक दल, सञ्चार माध्यम एवम् सरोकारवाला सबैमा आयोगको आग्रह छ ।