Tuesday, July 28

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

नेपालअखबार, म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

Advertisement

मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ ।

Advertisement
Advertisement

विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी रु एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ । “विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्नसमेत सघाउँछौँ”, उनले भने ।

Advertisement

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताए । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको  विद्यार्थी बताउँछन् । नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् । विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा प्रयोगशाला सहायक सहित नौजना दरबन्दी छ । रासस