Tuesday, July 28

मिथिला माध्यमिक परिक्रमा आजदेखि

नेपालअखबार, धनुषा। पन्ध्र दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।

Advertisement

सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन्।

Advertisement
Advertisement

कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए।

Advertisement

आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्ने जनाइएको छ।

उनका अनुसार फागुन ३० गते  ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने छन्।

त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताए।

चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए।

चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन्।

चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।

परिक्रममा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका छन्।  उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन्।

अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ। धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ।

यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ। रासस