
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २०८० लाई समिक्षाको रुपमा लिनुपर्ने बताउनु भएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले २०८० को वर्षलाई समिक्षाको रुपमा लिएर नयाँ वर्ष २०८१ लाई नयाँ संकल्पका साथ लिनुपर्नेमा जोड दिनुभएको छ।
जारी विज्ञप्तिमा भनिएको छ,‘नयाँ बर्ष २०८१ साल आरम्भ भएको सुखद् अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ बर्षलाई हामीले विगतको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्ने अवसरका रूपमा लिंदै आएका छौं। आगामी दिनमा रोजगारीको सृजना गर्न,आर्थिक समृद्धि हासिल गर्न र देश मै सम्भावनाको खोजी गर्ने सकारात्मक सोचको विकास गर्न सबै राजनीतिक दलहरु बीचमा सहकार्य र सहमतिको संस्कृति विकास हुने विश्वास लिएको छु।’
विज्ञप्तिमा भनिएको छ,‘अब हामी राष्ट्रिय पुँजीको विकास गर्दै उद्यमशीलता प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण तर्फ अग्रसर हुनुपर्नेछ। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु प्राथमिकतामा राखेर सोही अनुसार नीति तथा कार्यक्रमहरू अवलम्बन गर्नुपर्नेछ। नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। दीगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित रोजगारी र आर्थिक समृद्धिको लागि नयाँ बर्ष २०८१ साल उपलब्धिमुलक हुने मैले विश्वास लिएको छु। नयाँ बर्ष २०८१ ले न्यायपूर्ण र सुसंस्कृत मुलुकको निर्माण गर्ने नेपाली जनताको चाहनामा सारथी बन्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’




