Monday, August 17

बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

नेपालअखबार, पर्वत। दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ।

Advertisement

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो।

Advertisement
Advertisement

गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ।

Advertisement

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो। चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख  ध्रुवकुमार झाले बताए।

‘६ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ,’ उनले भने, ‘यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ। छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।’

मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ। मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो।

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ। मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–लस्ती खण्डमा छ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ।

तेह्र किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा छ किमी, मार्फा–जोमसोम खण्डमा ६ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए।

कूल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब सात अर्ब खर्च भएको जनाइएको छ। रासस